
काठमाडौं, २८ मंसिर २०८२
जाडो मौसम सुरु भएसँगै देशभर डेङ्गी र स्क्रब टाइफसका बिरामीको संख्या घट्दै गएको छ।
चितवन जिल्लामा गरिएको सर्वेक्षण अनुसार गत वर्षको तुलनामा यस वर्ष मङ्सिर महिनामा दुवै रोगको सङ्क्रमण उल्लेख्य रूपमा कम देखिएको जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले बताउनु भयो।
घिमिरेका अनुसार गत वर्ष मङ्सिरमा ११३ जनामा डेङ्गी देखिएकामा यस वर्ष १२ जनामा मात्रै सङ्क्रमण पुष्टि भएको छ। चालु आर्थिक वर्षमा हालसम्म ५ हजार ९२३ जनाको परीक्षण गर्दा १७४ जनामा डेङ्गी देखिएको घिमिरेले जानकारी दिए।
घिमिरेका अनुसार पुस लागेसँगै चिसो बढ्ने भएकाले डेङ्गीको सङ्क्रमण अझै घट्दै जाने अपेक्षा गरिएको छ। डेङ्गी मुख्यतः सहरी क्षेत्रमा एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो।




