
काठमाडौं, ०१ पुस २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि अध्यक्षमा डा. बद्री रिजाल र डा. मंगल रावलबीच प्रतिष्पर्धा हुने निश्चित भएको छ ।
प्रजातन्त्रवादी चिकित्सकबाट मंगलबार डा. बद्री रिजालको नेतृत्वमा जाने निश्चित भएको हो । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रिजाल हाल संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । यसअघि प्रगतिशिल समूहबाट डा. मंगल रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।
यस्तैगरी संघको महासचिव रहनुभएका डा. सञ्जिव तिवारीलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा भएको छ।
संघका हालका वरिष्ठ उपाध्यक्ष डा. रिजालले आफ्नो नेतृत्वमा चुनावमा जाने निश्चित भएको जानकारी दिनुभयो ।
डा. रिजालका अनुसार मेरो नेतृत्वमा संघको आगामी निर्वाचनमा चुनावी मैदानमा जानेछौ। अहिलेलाई अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष र महासचिवको मात्र टुंगो भएकोछ । अन्य पदमा जाने व्यक्तिहरुको लागि छलफल भइरहेको डा. रिजालको भनाई छ ।
यसअघि अध्यक्षमा उ्रम्मेदवारी घोषणा गरिसक्नुभएका डा. विश्वराज दवाडीले महासचिवमा उम्मेदवारी दिने निश्चित भएको छ । डा. दवाडीले डा. रिजालको टिममा आफू महासचिवमा बस्ने भन्दै महासचिवमा उम्मेदवारी दिनुहुने भएको हो ।
यसअघि संघको अध्यक्ष पदका लागि डा. मंगल रावलले घोषणा गरिसक्नुभएको छ । प्रगतिशिल तर्फबाट संघको महासचिवमा डा. पदम नेपाली र स्वतन्त्र तर्फ डा. अमृत भुसालले पनि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।




