
काठमाडौं, ०१ पुष २०८२
कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलले आफ्नो स्थापनाको १८औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डिन डा. मनोज हुमागाईंले कलेज स्थापना कालदेखि नै भिजिटिङ फ्याकल्टीका रूपमा संलग्न रहँदै आएको स्मरण गर्दै कान्तिपुर डेन्टल कलेज काठमाडौं विश्वविद्यालयको लिडिङ कलेज भएको बताए।
डा. हुमागाइले कलेजबाट उत्पादन भएका डेन्टल जनशक्ति देशका हरेक क्षेत्रमा पुगेको उल्लेख गर्दै डेन्टल क्षेत्र अब केवल ‘जबसिकर’ मात्र नभई ‘जबसृजक’ समेत बन्न थालेको बताउनु भयो।
कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले १८ वर्षे यात्रामा संस्थासँग जोडिएका सम्पूर्णप्रति आभार व्यक्त गर्दै गुणस्तरीय डेन्टल शिक्षामा कलेजले निरन्तर जोड दिँदै आएको बताए। डा. श्रेष्ठले संस्थाको प्रगतिमा शिक्षक तथा कर्मचारीको अतुलनीय योगदान रहेको उल्लेख गर्दै सामाजिक उत्तरदायित्वभन्दा पनि माथि उठेर नियमित रूपमा गाउँ-गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
चिकित्सा शिक्षा आयोगका निर्देशक डा. सजन बाबु मरहट्टाले डेन्टल एजुकेसनमा देखिएका चुनौती समाधानका लागि मेडिकल कलेज, विश्वविद्यालय, आयोग र सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताए। उनले ज्ञान र सीपसँगै गुणस्तरीय र दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने उल्लेख गरे।
कलेजका प्रिन्सिपल प्रा.डा. रविन्द्रमान श्रेष्ठले सन् २००७ बाट अध्यापन सुरु गरेको कान्तिपुर डेन्टल कलेज काठमाडौं विश्वविद्यालयको पहिलो तथा अग्रणी डेन्टल कलेज भएको बताउनु भयो।
कलेजकी निर्देशक डा. प्रदिक्षा श्रेष्ठले अघिल्लो वर्ष विभिन्न विभागमा उपचार गरिएका बिरामी, थपिएका सेवाहरू र आगामी योजनाबारे जानकारी दिइन्। केडीसी जनरल अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले अस्पतालले सुपर स्पेसियालिटी तथा स्पेसियालिटी सेवा प्रदान गरिरहेको बताउनु भयो।
वार्षिकोत्सवका अवसरमा कलेजका विभिन्न विभागका उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मानसमेत गरिएको थियो।




