काठमाडौं, ०७ फागुन २०७८
प्रजातन्त्र दिवसको अवसर पारेर देश भरी रहेका नौ संस्थाहरु एक्यवद्द भई “फिजियोथेरापी रिह्यबिलिटेसन सेण्टर एसोसिएसन नेपाल” छोटकरीमा “प्राण” निर्माण भएको घोषणा गरिएको छ ।
शुक्रबार साधारण सभा आयोजना गरि घोषणा गरिएको यस कार्यक्रममा नेपालका पहिलो रिह्याबिलिटेसन डाक्टर, फिजियोथेरापी संघ, अकुपेस्नल थेरापी संघ, प्रोसथेसिस अर्थोसिस संघ तथा नास्फिरका अध्यक्षहरु सहित पुनर्स्थापनाका विज्ञहरु अतिथीमा निमंन्त्रण गरिएको थियो।
नेपाल राज्यभित्र भौतिक चिकित्सा तथा पुनर्स्थापना सेवा संचालन गरिरहेका संस्थाहरु एक-आपसमा संगठित भई हाल सम्म निर्माण नभएको दर्ता प्रकृया स्थापना सरकार सँग माग गरि सहयोग गर्न, पेशागत एवम् व्यवसायिक ऐक्यवध्दता कायम गर्न, पेशागत तथा व्यवसायिक हकहितको संरक्षण तथा प्रवध्र्दन गर्न, भौतिक चिकित्सा तथा पुनर्स्थापना सेवालाई गुणस्तरीय, प्रभावकारी र मर्यादित वनाउदै स्वास्थ्य सेवाको क्षेत्रमा योगदान दिन संगठित प्रयास गर्ने उद्देश्यले संघ गठन गरिएको नवनियुक्त संस्थापक अध्यक्ष हरि कुमार लम्सालले बताउनु भयो।
नेपाल अधिराज्यराज्यभर फिजियोथेरापी पुनर्स्थापना सेवा संचालन गरिरहेका १५ शैया भन्दा वढी क्षमताका संस्थाका सञ्चालकहरुले काठमाण्डौंमा सम्पन्न राष्ट्रिय भेलाले सर्वसहमतिमा संघको विधान पारीत गर्दै सो विधान बमोजिम विभिन्न निर्णयहरु गर्नुका साथै यस संघको प्रथम कार्यसमितिको गठन गरेको छ ।
संघको नव गठित पदाधिकारीको अध्यक्षमा साहारा फिजियोथेरापी अस्पतालका हरि कुमार लम्साल, उपाध्यक्षमा जगदीश खनाल रहनुभएको छ।
त्यस्तैगरी महासचिवमा समीद कातिला श्रेष्ठ, सचिवमा राजेश महत र कोषाध्यक्षमा दीक्षा जोशी रहनुभएको छ।
त्यस्तैगरी सदस्यहरूमा विवेक पौडयाल, अशोक मणि रिमाल, कविन सापकोटा र अंगिरा थापा छिन ।
स्वास्थ्य सेवाका अन्य विधा जस्तै यस विधालाई पनि मान्यता प्रदान गरी जनताको स्वास्थ्यप्रतिको हक सुरक्षित गर्न आवश्यक पहलका लागि नेपाल सरकार तथा अन्य सम्वन्धित निकाय समक्ष अनुरोध गर्न काम गर्ने, जनस्तरमा जानकारीमूलक कार्यक्रमहरु संचालन गर्ने, पुनर्स्थापनाका अन्य सॅस्थाहरुसंग हातेमालो गर्दै एक जुट भई सामुहिक हक हितको निमित्त काम गर्ने संघका महासचिव समिद कतिला श्रेष्ठले बताउनु भयो ।
नेपाल सरकारले साधारण अस्पताल वा विशेषज्ञ अस्पताल, पोलीक्लिनिकहरु स्थापना गर्ने मापदण्ड वनाएर लागू गरेको छ, तर स्वास्थ्य सेवाको यति महत्वपूर्ण विधा संचालनका लागि फिजियोथेरापी तथा पुनर्स्थापना केन्द्र संचालन गर्ने मापदण्ड हालसम्म वनाएको छैन । हामी हाम्रा सेवा संचालन गर्न सरकारले उचित मापदण्ड निर्माण गरी लागू गरोस भन्ने चाहन्छौं । मापदण्ड निर्माण गर्न तथा त्यसलाई लागू गर्ने कार्यमा नेपाल सरकारलाई आवश्यक सहयोग गर्न हामी तैयार रहेको जानकारी गराउन चाहन्छौं अध्यक्ष लम्सालले थप्नु भयो।
सेवाको गुणस्तर कायम गर्न, यसको विश्वसनीयतामा वृध्दि गर्न, स्वास्थ्य क्षेत्रको एक प्रभावकारी तथा वैज्ञानिक विधाका रुपमा यस सेवालाई स्थापित गर्न, सम्वन्धि काम गर्ने सरकारी तथा गैरसरकारी संघ संस्था संग सहकार्य गर्न प्रयत्न गर्ने, फिजियोथेरापी तथा रिहाविलिटेशन सेवाको प्रभावकारीताका लागि रचनात्मक तथा जनचेतनामूलक कार्यक्रम संचालन गर्ने, फिजियोथेरापी तथा रिहाविलिटेशन सेवा सम्वन्धि सभा गोष्ठी, शिविर तथा छलफल कार्यक्रमको आयोजना गर्ने समेत उदेश्य रहेको छ।