अन्तर्राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्ष मे १२ तारिखको दिन मनाइन्छ। सन् १९७४ को जनवरीमा विश्व स्वास्थ्य संगठनले निर्णय गरेअनुसार फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात् मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रुपमा विश्वभर मनाउन थालिएको हो। फ्लोरेन्स नाइटिङ्गेललाई आधुनिक नर्सिङ आन्दोलनको जन्मदाता मानिन्छ।
नेपाल नर्सिङ परिषद् (वि.सं. २०५३) मा स्थापना भएसँगै प्रत्येक वर्ष १२ मेका दिन यो दिवस मनाउने गरिएको छ । प्रत्येक वर्ष विभिन्न नाराका साथ मनाइने नर्सिङ दिवसको यो वर्षको नारा ‘nurses : a voice to lead, invest in Nursing and respect rights to secure global health’ रहेको छ ।
अन्तर्राष्ट्रिय नर्सिङ दिवसको दिन हाम्रो देशमा नर्सिङ पेसामा लागेका नर्सहरूको हकहितका विषयमा निकै ठूला बहस र चर्चा हुने गर्छन् । यो दिन नर्सिङ पेसाको महिमा गाइन्छ, नर्सहरूको सुरक्षित भविष्यका लागि सेवा सुविधा बढाउनेदेखि अन्य विभिन्न प्रतिबद्धताहरू गरिन्छन् । तर, ती प्रतिबद्धताहरू कुनै पनि कार्यान्वयन हुँदैनन् । दोस्रो दिनदेखि नर्सको अवस्था उही पुरानै । यो शृङ्खला हरेक वर्ष दोहोरिइहन्छ, हाम्रो मुलुकमा ।
नर्सिङ बिना अस्पतालको कल्पनासमेत गर्न सकिँदैन । यो ध्रुवसत्य हो । तर, यहाँ त नर्सहरूले राज्यले तोकेको न्यूनतम तलब र अन्य सेवा सुविधाबाट पनि वञ्चित हुनुपर्ने विडम्बना छ । आज हजारौँको संख्यामा रहेका नेपाली नर्सहरू राज्यले तोकेको पारिश्रमिक र सेवा सुविधाबाटै वञ्चित छन् । किन ?
नेपालमा नर्सिङ पेसाको हकहितका लागि सङ्गठित अभियान सुरु भएको झण्डै छ दशक पुगिसक्दा पनि यो पेसा अझै व्यवस्थित बन्न सकेको छैन । राज्यले तोकेको न्यूनतम पारिश्रमिक पाउन पनि बेला–बेलामा नर्सहरूले आन्दोलनममै होमिनुपर्ने बाध्यता छ । बिरामीको सेवामा दिनरात खट्नुपर्ने नर्सले आफ्नो योग्यताअनुसारको सेवा नपाउँदा कि त विदेशिनुपर्ने बाध्यता छ, कि त पेसाबाटै पलायन हुनुपर्ने अवस्था छ ।
नेपाल नर्सिङ परिषद्को तथ्यांकअनुसार नेपालमा हाल नर्सहरूको संख्या १ लाख ५ हजार छ । जसमध्ये केही प्रतिशत नर्स मात्रै नेपालमा छन् । नेपालमा नर्सको श्रम शोषण, योग्यताअनुसार रोजगारी नपाउनु, विशेषज्ञताअनुसार पदपूर्ति हुन नसक्नुलगायतका समस्याका कारण थुप्रै नर्सहरू पेसाबाटै पलायन भएका छन् भने कोही हुने क्रममा छन् । निजी अस्पतालहरूमा त झन् नर्सहरूले भोग्नुपरेका श्रमशोषणका समाचार बेलाबेलामा सार्वजनिक हुँदै आएका छन् । त्यस्ता अस्पतालहरूले राज्यले तोकेको न्यूनतम तलब सुविधा नदिई काममा खटाएको स्वयम् नर्सहरूले नै बताउँदै आएका छन् ।
नर्सहरू दिनरात, भोकप्यास केही नभनी साना–साना बालबच्चा, परिवार, चाडपर्वलाई छोडेर बिरामीको सेवामा खटिन्छन् । यो उनीहरूको पेसागत धर्म पनि हो । एउटा नर्स आफ्नो पेसाप्रति पूर्ण रूपमा प्रतिबद्ध र जवाफदेही भएर काम गरिरहँदा उसले पाइरहेको सेवासुविधा पर्याप्त छैन। आजको अहम् प्रश्न नै यो हो । किन नर्सलाई उनीहरूको श्रमअनुसारको मूल्य दिइँदैन । यसको अर्थ हो, यहाँ नर्सको श्रमको उचित सम्मान छैन ।