हेटौंडा, ९ श्रावण २०७९
स्वास्थ्य सेवा बिभाग, इपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा इन्टोमोलोजी सम्बन्धि ८ दिने तालिम आयोजना गरिएको छ।
नेपालमा लामो समय देखि विद्धमान बिभिन्न किटजन्य सरुवा रोगहरु मध्ये नेपाल सरकारले औँलो, कालाजार तथा हात्तीपाईले रोग निवारण गर्ने लक्ष्य राखेको छ भने डेंगी, चिकनगुनिया , जीका, स्क्रब टाईफस, जापनिज इन्सेफ्लाईटिस लगायतका अन्य किटजन्य रोगहरु नियन्त्रण गर्ने गरी राष्ट्रिय रणनीति तय गरेर कार्यक्रम भै रहेका छन । रोग निवारणको लक्ष्य हासिल गर्न, रोगहरुलाई नियन्त्रणमा राख्न र महामारी हुन नदिनको लागि संघ, प्रदेश र स्थानीय तहमा कार्यरत इन्टोमोलोजिस्ट, औलो प्राबिधिक र अन्य स्वास्थ्यकर्मीहरुलाई ८ दिने जनस्वास्थ्यको महत्त्व बोकेका किटहरु बारे ज्ञान, सिप र पहिचानको क्षमता बढाउन एकीकृत फिल्ड इन्टोमोलोजी सम्बन्धि तालिम यहि साउन ४ गते देखि हेटौंडामा शुरु भएको छ ।
विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन भएको तालिममा औलो, हात्तीपाईले, जापानिज इन्सेफ्लाईटिस, डेंगी, जीका र चिकनगुनिया रोग सार्ने लामखुट्टे र कालाजार रोग सार्ने स्याण्ड फ्लाई संकलनको तरिका, पहिचान गर्ने बिधि र यी किटहरुको प्रभावकारी नियन्त्रणको उपायहरु सम्बन्धि बिषयबस्तु समेटेर तालिम संचालन गरिएको इपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक श्री उत्तम राज प्याकुरेलले बताउनु भएको छ ।
उक्त तालिम कार्यक्रम सहजिकरणका लागि प्रमुख प्रशिक्षकको रुपमा विश्व स्वास्थ्य संगठन दक्षिणपुर्बी एसिया कार्यालय दिल्लीका इन्टोमोलोजी सम्बन्धि विशेषज्ञ डा. बि एन नागपाल रहनु भएको छ भने नेपालका प्रो. डा. मुरारीलाल दास, सिनियर इन्टोमोलोजिस्ट शम्भु नाथ झा, सिनियर इन्टोमोलोजिस्ट शिशिर कुमार पन्त समेतले सहजीकरण गर्नु भएको थियो ।