काठमाडौं, १६ पुस २०७९
नेपाल चिकित्स संघ लोकतान्त्रिक समूहले स्वास्थ्यकर्मीको तलब वृद्धि देखि लिएर १७ ओटा एजेण्डाहरु सहितको घोषणापत्र जारी गरेको छ।
माघ ६ गतेबाट हुन लागेको निर्वाचनमा डा.अनिल विक्रम कार्कीको नेतृत्वमा टिम घोषणा गर्दै आगामी तीन वर्षमा स्वास्थ्यकर्मीको तलब वृद्धि र उनिहरुको सुरक्षाका लागि छुट्टै सुरक्षा फौज तयार पार्ने भएको हो ।
शुक्रबार लोकतान्त्रिक समूहले पत्रकार सम्मेलन गर्दै १७ प्रमुख एजेण्डा अगाडी सारेका छन् । केही नयाँ छन् भने केही पुराना रहेका छन् । पुराना एजेण्डाहरू क्रमश: कार्यान्वयनको चरणमा रहेकाले त्यसलाई पूरा गर्ने भन्दै एजेण्डामा राखिएको छ । तर, नयाँ एजेण्डा जुन धेरैले सोचेकोभन्दा फरक छ ।
लोकतान्त्रिक समूहले राखेको चुनावी एजेण्डामा अस्पताल लगायत स्वास्थ्य संस्थाको सुरक्षाका निम्ति छुट्टै ‘स्वास्थ्य सुरक्षा बल’ बनाउन पहल गर्ने विषय सबैका लागि आकर्षक बनेको छ । नेपालको स्वास्थ्य क्षेत्रमा विगतमा यो विषय उठ्दै आएको थियो । बिरामीको मृत्यु पछि अस्पतालमा स्वास्थ्यकर्मी माथि हुने हातपात र तोडफोडका घटना बढ्दै जाँदा उनिहरूको सुरक्षाका लागि एक छुट्टै फौजको आवश्यकता महशुस भएको थियो ।
डा. कार्कीले भने स्वास्थ्य सुरक्षा बल कस्तो हुन्छ भन्ने धेरैलाई जिज्ञासा रहन सक्छ । अस्पतालले विभिन्न सेक्युरेटी कम्पनीबाट पनि गार्ड राखिएको हुन्छ । तर, उनिहरु शारिरीक रुपमा त्यती फिट हुँदैनन् ।
लोकतान्त्रिक समूहले चाहेको स्वास्थ्य सुरक्षा बल भनेको शारीरिक र मानसिक रुपमा फिट भएको हुनुपर्छ । दुई चार जना लड्न आए एकै जनाले भिड्न सक्ने खालको फौज अस्पताल तथा स्वास्थ्य सस्थामा बनाउँन लागिएको हो । यो विषयलाई देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीले निकै महत्वका साथ हेरेका छन् । यद्यपी अध्यक्षका प्रत्यासी डा. कार्कीले आफ्नो कार्यकालमा खुट्टा नकमाई लाग्ने बताए ।
चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब सुबिधाका विषयमा डा. लोचन कार्कीको नेतृत्वले खाका तयार पारेर मन्त्रिपरिषदमा समेत पुर्याएको थियो । बजेट अपुग हुने अर्थको राय पछि केही पछाडी सरेको छ । स्वास्थ्यकर्मीका अहिलेको तलबले गुणस्तरीय स्वास्थ्य सेवाको कल्पना गर्न नसकिने सबै क्षेत्रका व्यक्तिहरूले पनि अभिव्यक्ति दिन थालेका छन् ।
तीन वर्षमा स्वास्थ्यकर्मीको तलव वैज्ञानिक रुपमा वृद्धि गराउँन लाग्ने डा. कार्कीले बताए ।
यी हुन् १७ एजेण्डाहरु
- नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स पाएका सबै चिकित्सकहरुको सबै प्रकारका बीमा सरकारले गरिदिने व्यवस्था ल्याउन पहल गर्ने ।
- वान टाइम टिडिएसको व्यवस्था गर्ने ।
- चिकित्सक र उनिहरूको परिवारका लागि नेपाल प्रहरी, नेपाली सेनाको जस्तै डेडिकेटेड अस्पतालको निर्माणका लागि पहल गर्ने ।
- चिकित्सकको काम गर्ने समयलाई वैज्ञानिक ढङ्गले निर्धारण गरी वर्षमा एक पटक अनिवार्य रुपमा १५ दिनको तलवी पर्यटन विदाको व्यवस्थाका लागि पहल गर्ने ।
- चिकित्सक सेवा आयोगको स्थापना र चिकित्सक ऐनका लागि पहल गर्ने ।
- जनशक्तिको अध्ययन गरी दरबन्दी थप गर्न दबाव दिने ।
- स्वास्थ्यकर्मी तथा स्वास्थ्य सस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन * ऐन २०७९ को सतप्रतिशत कार्यान्वयन गराउँने ।
- स्वास्थ्य सुरक्षा बल बनाउन पहल गर्ने ।
- पिजीको सिट संख्या बढाउँदै पिजी अध्ययनका लागि एक वर्षको अनुभव अनिवार्य रहेको व्यवस्था हटाउन पैरवी गर्ने ।
- सङ्घीय संरचना अनुसार सात वटै प्रदेशमा सङ्घको कार्यालय स्थापना गर्ने ।
- सङ्घको छुट्टै अनुसन्धान विभाग बनाउने ।
- चिकित्सकहरूलाई सहुलियत ऋण उपलब्ध गराउने ।
- मेडिकल म्युजियमको स्थापना गर्ने ।
- सिडिसिको स्थापना गरी विशेषज्ञ चिकित्सक समाजहरूसँग समन्वय गरेर उपचार गाईडलाईन सात प्रदेशमा बनाउँने काममा तीव्रता दिइनेछ ।