काठमाडौं, १८ श्रावण २०७७
लकडाउनका कारण प्रभावित बनेको बालबालिकाहरुको खोप कार्यक्रम नियमित भएको छ ।
लकडाउनको बेला विभिन्न कारणले प्रभावित बनेपनि नियमित खोप सेवा लकडाउनकै समयमा बैशाख देखि नै सबै स्थानमा फेरि नियमित गरिएको बाल स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो।
उहाँका अनुसार अहिले देशभरका १६ हजार खोप केन्द्रबाट नियमित खोप सेवा सञ्चालन भइरहेको छ । खोप सेवा नियमित नभए दादुरा लगायतका रोगहरुको महामारी फैलिई बालबालिकाको बिरामीदर र मृत्युको संख्या बढ्न सक्ने भन्दै तत्काल देशभर नै सञ्चालन गरिएको उहाँको भनाइ छ । ६ लाख २० हजार बालबालिकालाई हरेक वर्ष निःशुल्क खोप लगाउने गरे पनि लकडाउनको समयमा धेरै ठाउँमा रोकिएका थिए ।
प्रदेश मन्त्रालय , निर्देशनालय , पालिकाको समन्वयमा सबै स्वास्थ्यकर्मी, जिल्ला स्वास्थ्य कार्यालय र आपूर्ति केन्द्रहरू अनि स्थानीय प्रशासनसँग समन्वय गरेर सेवा सञ्चालन गरिएको बाल स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनुभयो ।लकडाउन खुले पनि कोरोनाको जोखिम कायमै रहेकाले खोप लगाउँदा स्वास्थ्यकर्मीहरूले पनि मास्क लगाउने, दूरी कायम गर्ने, भीडभाड नगरी सुरक्षाको मापदण्ड अपनाई सेवा सञ्चालन गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो।
नेपालमा बच्चा जन्मिएपछि पहिलो १५ महिनाभित्र १२ ओटा एन्जिजेन (खोप) दिनुपर्छ। यसैबीच कोरोनाका कारण रोकिएको दादुरा रुबेला खोप अभियान पनि पूरा भएको छ । असार महिनाभित्रमा २५ लाख भन्दा बढी बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइएको उहाँले जानकारी दिनुभयो ।
यो दादुरा-रुबेला खोप अभियानमा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई लगाउने गरिन्छ । यस्तै १६ लाख ३६ हजार बालबालिकालाई पोलियो थोपा पनि खुवाइएको बाल स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो । जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई पोलियो थोपा खुवाउने गरिन्छ ।