काठमाडौं, १५ चैत्र २०७७
केही दिन यता काठमाडौंलगायत विभिन्न स्थानमा वायु प्रदुषण बढेसँगै स्वास्थ्य समस्यामा जटिलता थपिँदै गएको छ।
काठमाडौंका उपत्यकाबासीमा रूघाखोकी, दम, एलर्जी, आँखा पोल्ने र अन्य श्वासप्रश्वाससम्बन्धीरोगकाे जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले वायु प्रदुषण अत्याधिक बढेकाले अनावश्यक रूपमा घर बाहिर ननिस्कन आग्रह गरे।
‘अत्यावश्यक काममा बाहेक घर ननिस्कौँ, मनिङ वाक नजाऔँ, घरभित्र बसेर व्यायाम गर्ने बानी बसालौं,’ डा. गौतमले भने, ‘प्रदुषण रोक्न धुँवा उत्पन्न हुने क्रियाकलाप नगरौँ।’
त्यसैगरी, मन्त्रालयले अनावश्यक रूपमा सवारी साधन नचलाउन अपिल गरेको छ।
अत्यावश्यक रूपमा निस्कन परेमा अनिवार्य रूपमा मास्ककाे प्रयोग र सामाजिक दुरी कायम गर्न डा. गौतमले अनुरोध गरे।
‘अनावश्यक रूपमा घर बाहिर ननिस्कौँ।निस्कँदा अनिवार्य रूपमा मास्ककाे प्रयोग गरौँ। बेलाबेलामा हात, मुख र आँखा धुने बानी बसालौँ,’ डा. गौतमले भने।
उनले बेलाबेलामा हात, मुख र आँखा सफा गर्न पनि आग्रह गरे।
छाती रोग विशेषज्ञ डा. राजु पंगेनीले वायु प्रदुषण आफैंमा खतरनाक भएकाले सचेतरहन आग्रह गरे।
‘गाडी वा डढेलोको धुँवाले आँखा पोल्ने हुनसक्छ। धुलोका कणहरूले आँखा बिझाउने, चिलाउनेजस्ता समस्या देखा पर्नसक्छन्,‘ उनले भने ‘निकै साना साना २ माइक्रोग्रामभन्दा साना धुलो, वा धुँवाका कणहरू सिधै रक्तसञ्चारका माध्यमबाट मुटु वा मिर्गौलासम्म पुग्न पनि सक्छन्।’
वायु प्रदुषणले गर्भमा रहेको बच्चालाई समेत हानी पुर्याउन सक्ने उनले बताए। ‘त्यसैले हामी यसबाट बँच्नैपर्छ’ उनले भने ‘विषाक्त्त रसायनहरू मिसिएका कारण दुषित हावा आफैंमा हानिकारक हो।’
(हेल्थ पोष्ट बाट)















Comments 1