चौतारा, ८ असोज २०८१
सिन्धुपाल्चोकमा रहेको चौतारा अस्पतालले डायलासिसको सेवा सुचारु गरेको छ ।
आईतबार पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले एक कार्यक्रमका बिच उक्त सेवाको सुभारम्भ गरेका हुन् ।
चौतारा सागाचोकगढी नगरपालिका ५ की ५१ बर्षीय शर्मिला तामाङले पहिलो सेवा लिएकी छिन् । तामाङ ७ बर्षअघिदेखी नै मृगौलाको रोगका कारण काठमाडौं हप्ताको २ पटकसम्म धाएर डायलासिस गराउदै आएकी थिइन् । उनि भन्छिन् “हप्ताको २ पटक म र मरो साथमा जाने व्यक्तिको गरि एक पटकमै ४ हजार भन्दा बढि खर्च हुने गरेको थियो । अव काठमाडौं धाउन नपर्ने भयो ।”
घरछेउमै सेवा लिन पाएपछि उनको खर्चको कटौती भएको छ । यता परिवारको अर्को सदस्यको पनि समयको बचत भएको छ । अस्पतालले सुरु गरेको सेवाको लागि डा. सरोज श्रेष्ठको साथमा ३ जना स्वास्थ्यकर्मीहरु खटिने अस्पतालले जनाएको छ ।
अस्पतालको भवन वि.सं २०७२ को भुकम्पले ध्वस्त भएपछि प्रि फाइभ अस्थाई भवनबाट सेवा दिदै आइरहेको थियो । सुरुमा १५ शैयाको चौतारा अस्पताल प्रादेशिक अस्पताल भएसंगै ५० शैयामा स्तरोन्नती भएको छ । २०८० पुस ३ गते बागमती प्रदेश सरकार मन्त्रिपरिषद तथा स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार ५० बेडमा अस्पताललाई विस्तार गरिएको थियो । पहिले रेफर सेन्टरको रुपमा चिनिदै आएको अस्पताल अहिले अस्पताल राजधानीको अस्पतालको झल्को दिने खालको बनेको छ।
अस्पताल प्रवेश गर्ने वित्तिकै सवारी पार्किङ सुविधा, क्षयरोगको औषधी वितरण स्थल, खोप लगाउने क्लिनिक, इमर्जेन्सी सेवा, फार्मेसी, सामाजिक सेवा ईकाई, स्वास्थ्य विमा सेवा लिने ठाउँहरु देख्न सकिन्छ । साथै विरामीले पालो कुर्ने ठाउँ पनि ब्यवस्था रहेको छ ।
अस्पतालले नियमित सेवाहरु जनरल ओपीडी, हाडजोर्नी, दन्तसेवा लगायतका सेवाहरु दिइरहेको चौतारा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले बताए । डा. भण्डारीका अनुसार अस्पतालबाट सेवा लिनेहरुमा महिला तथा प्रसुती सेवामा बढी सन्तुष्टी रहेको छ । दुई वटा विशेषज्ञ सेवा पनि छ । पहिलाको तुलनामा सेवा लिनेहरु वृद्धि भएको र तथ्यांक हेर्दा महिनामा ३ हजार भन्दा बढीले ओपीडी सेवा लिएका छन् । अस्पताल ब्यवस्थित भवनमा सारे संगै गुणस्तरीय सेवा दिन काम भइरहेको डा. भण्डारीले बताए ।
डा. भण्डारीका अनुसार विशेषज्ञ डाक्टर सहित ६३ जनाको दरबन्दी रहेको छ । अहिले कार्यरत डाक्टरहरु १७ जना छन् । दरबन्दी पूर्ति भएमा अस्पतालबाट दिने सेवामा थप सुधार हुने विश्वास डा. भण्डारीले ब्यक्त गरे । हाललाई स्थायी दरबन्दी अन्तर्गत करारमा परिपुर्ती गरिदै आएको पनि डा. भण्डारीले बताए । जनताको विश्वास र जनभावनालाई ध्यानमा राखि अस्पतालबाट प्रवाह भइरहेको सेवालाई अझ चुस्तदुरुस्त रुपमा लैजाने बताउदै यसमा सवैलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो।
अस्पतालले नयाँ भवनबाट सेवा दिन थालेसंगै स्वास्थ्य उपचार सेवा पनि पहिला भन्दा सुधार हुने नागरिकले आशा गरेका छन् । स्थानियले स्वास्थ्य उपचारका लागि जटिल भन्दा जटिल बाहेक राजधानी धाउनुपर्ने बाध्यता कम हुदै गएको देखिन्छ । पछिल्लो समय दैनिक ३० दखी ४० जनाले फिजियोथेरापी सेवा पनि लिने गरेको डा. भण्डारीले बताए।
अस्पतालले स्वास्थ्यकर्मीहरुको उत्प्रेरणाको लागि मासिक उत्कृष्ठ कर्मचारी सम्मान कार्यक्रम अघि बढाएको छ । यसैक्रममा अस्पतालमा कार्यारत कार्यालय सहयोगी जीत बहादुर तामाङ साउन महिनामा र डा. रोशन चौधरी भाद्र महिनाको उत्कृष्ठ कर्मचारीको रुपमा छनोट भई सम्मानित भएका छन्।