काठमाडौं, ७ फागुन २०८१
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालले आकस्मिक कक्ष विस्तार गरी व्यवस्थित बनाउन सुरु गरेको छ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मुलुककै पुरानो र आम नागरिकको पहुँचमा हुनुपर्ने वीरको आकस्मिक कक्ष विस्तार गर्न दिएको निर्देशन अनुसार काम अघि बढाइएको र हालको ५५ शैयाबाट बढाएर ७५ शैया पुर्याउन लागिएको अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले बताए।
डा. गौतमका अनुसार अहिलेको कक्ष साँघुरो र अव्यवस्थित भएकाले थप विस्तार गर्न लागिएको हो। आकस्मिक कक्ष विस्तार कार्य मंगलबारदेखि सुरु गरिएको छ। हालको बहिरंग विभागको भुइँतलाको पछाडिको भागमा विस्तार गर्न गरिदैछ। भवनको भुइँतलामा विभिन्न खालका सेवा कक्षहरू खाली गरी विस्तार गर्न लागिएको हो।
अहिले आवश्यक ठाउँ खाली गरी अन्यत्र प्रतिस्थापन गर्ने कार्य भइरहेको र त्यसपछि विस्तार कार्य तीव्र रूपमा अघि बढ्ने निर्देशक डा. गौतमले बताए। भुइँतलामा रहेको एआरटी कक्ष, स्टोर, क्षयरोगको औषधी वितरण गर्ने डट्स क्लिनिकलगायतका कोठा अन्यत्र सारेर ठाउँ खाली गर्ने कार्य भइरहेको छ।
आकस्मिक कक्षको पछिल्लो भाग खाली गरेपछि विस्तार हुने आकस्मिक कक्ष र भुइँतलामा आकस्मिक कक्ष र अब्जरभेसन कक्ष विस्तार गरेपछि आकस्मिक कक्षमा आउने बिरामीलाई उचित सेवा दिन सम्भव हुने गौतमले बताउनुभयो।
डा. गौतमले निमित्त निर्देशकको कार्यभार सम्हाल्ने बित्तिकै विस्तार कार्यलाई तीव्रता दिइएको बताए। ‘अस्ति मात्र निर्देशकको जिम्मेवारी सम्हालेको हुँ। लगत्तै यो कार्यलाई प्राथमिकता दिएको छु’, डा. गौतमले भने।
सञ्चालनमा रहेको ५० शैयाले यो अस्पतालमा आउने बिरामीको भारलाई व्यवस्थापन गर्नै कठिन परेपछि विस्तार गर्न सुरु गरिएको उनले बताए। अस्पतालको आकस्मिक कक्षमा दैनिक औसत एक सय ५० जना बिरामी आउँछन्।
कक्षमा ५० शय्याको भरमा व्यवस्थापन गर्नुपर्दा एउटै शय्यामा दुईजना बिरामी राख्नुपर्ने बाध्यता, आकस्मिक कक्ष अस्तव्यस्त र साँघुरो भएकाले विस्तार गर्न लागिएको आकस्मिक कक्षका प्रमुख डा. सुरेश नेपालले बताए। ‘अब बन्ने कक्ष व्यवस्थित र फराकिलो हुनेछ। बिरामी र चिकित्सक दुवैलाई सहज हुन्छ’, डा. नेपालले भने। एक दशक अघि पनि कक्ष साँघुरो हुँदा विस्तार गरी ट्रायज सिस्टमका आधारमा सेवा सञ्चालन गरिएको थियो।