धनगढी, १७ कार्तिक २०७९
सुदुरपश्चिम प्रदेशमा पहिलो पटक बंगुरमा अफ्रिकन स्वाईन फिभर रोग देखिएको छ।
कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ का स्थानीय जयबहादुर बुढाले पालेको बंगुरमा उक्त रोग देखिएको हो। उनले खोरमा पाठापाठी र माउ गरी चार सय ८२ वटा बंगुर पालेका थिए। आइतबार तीन सय १० पाठापाठी र ४२ माउ मरेपछि उनले स्थानीय तहको पशुपन्छी शाखामा जानकारी गराए। सो शाखाले पनि बंगुर मर्नुको कारण पत्ता लगाउन नसकेपछि पशुपन्छी तथा रोग अन्वेषण प्रयोगशाला धनगढीमा नमुना पठायो। प्रयोगशालाले रेपिड टेस्ट किटबाट परिक्षण गर्दा अफ्रिकन स्वाईन फिभर रोग देखिए पछि थप कर्फर्मेसनका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा नमूना पठाएकोमा केन्द्रीय प्रयोगशालाले पिसिआरबाट परिक्षण गर्दा अफ्रिकन स्वाइन फिभर भएको पुष्टि गरेको छ ।
बडीमालिका कृषि प्रवद्र्न केन्द्र प्रालिका सञ्चालक बुढाले भने, ‘तीन सय ५२ माउ तथा पाठापाठी मरिसकेका छन। अझै ९२ वटा बंगुर मर्ने अवस्थामा पुगेका छन।’ उनले सुदूरपश्चिम प्रदेशमा पहिलो पटक देखा परेको सो रोगका कारण ४० लाख भन्दा बढी क्षति व्यहोर्नु परेको बताए। बंगुरपालनबाट एक करोड बढी लगानीमा व्यवसायी गरेका बुढाको जिविकोपार्जनको आधार बनेको थियो। तर, बंगुरमा देखिएको महामारीपछि कसरी जिविकोपार्जन गर्ने चिन्तामा रहेका छन। उनले भने; रोगको महामारी नियन्त्रण गर्न कुनै खोप बनेको छैन। २०७८ साल चैत १६ गते नेपालमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको बंगुरमा पहिलो पटक अफ्रिकन स्वाईन फिभर रोग देखा परेको थियो।
नेपालमा यो रोग अहिलेसम्म नेपालका १० जिल्लामा फैलिईसकेको छ । बंगुरपालन तीव्र रूपमा व्यावसायिक बन्दै गरेको परिवेशमा कुनै ठोस उपचार तथा खोपसमेत नभएको भाइरसजन्य रोग प्रमाणित भएपछि कृषक वा व्यवसायीहरूका लागि यो ठूलै टाउको दुखाइ बनेको छ । सुदूरपश्चिम प्रदेशमा ५० हजार भन्दा बढी बंगुर बार्षिक उत्पादन हुने गरेको छ। यो रोग सबैभन्दा बढी चिनमा बंगुरमा रोग देखिदा ३० खर्ब क्षति व्यहोरेको थियो। अफ्रिकन स्वाइन फिभरका कारण कुनै खोरमा शतप्रतिशतसम्म बंगुरहरू बिनाकुनै लक्षण रातारात पनि मर्न सक्ने प्रयोगशालाका प्रमुख डा. नरेश प्रसाद जोशी बताउछन ।
डा. जोशीका अनुसार विरामी बंगुरमा ४० देखि ४२ डिग्री सेल्सियससम्मको उच्च ज्वरो आउने, झोक्राएर एकै ठाउँमा थुप्रने, शरीरमा रगत जमेका राता धब्बाहरू देखिने, कानका टुप्पाहरूमा रगत जमेर कालो/नीलो बन्ने र केही दिनभित्रै ठूलो संख्यामा बंगुरहरू मर्ने हुन्छ। मन्द खालको भाइरस भएमा मृत्युदरमा केही कमी हुन्छ। तर अन्य रोगजस्तै बंगुरको हैजा, साल्मोनेलोसिस, स्वाइन इरिसेपिलस, पीआरआरएस, स्वाइन अजेस्कीलगायत र विषादीजन्य समस्यामा समेत समान खालका लक्षण देखिने हुँदा रोग यकिन गर्न प्रयोगशालामा परीक्षण अत्यावश्यक हुन्छ। सामान्यतया रोग प्रमाणित भएको फार्म र वरिपरिको निश्चित क्षेत्रका बंगुरहरू सरकारले नै मार्ने र किसानहरूलाई क्षतिपूर्ति दिने अन्तर्राष्ट्रिय अभ्यास छ। यस्तो अभ्यास देशको कानुन अनुसार फरक हुन सक्छ।
भारतले रोग प्रमाणित भएको एक किलोमिटर वरिपरिका बंगुर मार्ने नीति लिएको छ। तर, नेपालमा अहिलेसम्म यसको नियन्त्रणबारे कुनै ठोस कानून र नीति नलिईएको डा. जोशीले बताए।