यसमा छलफल गर्नुपूर्व कुनै एउटा क्रुर कुप्रथाको बारेमा अलिकति छलफल गरौँ।
सती कुप्रथा । स्मरण रहोस् !
सती प्रथा त्यो कालमा (समय) प्रथा नै थियो तर अहिलेको मस्तिष्कले कुप्रथा भन्छ । पुरुष अर्थात् पतिको मृत्युपछि मृतककी श्रीमतीलाई भाङ लगायतका बेहोस हुने जडीबुटीबाट बनेका पदार्थ खुवाइन्थ्यो । बेहोस पारिएकी श्रीमतीलाई मृतक श्रीमानको शव (लाश) सँगै चितामा सुताइन्थ्यो । मलामीहरू हातमा बलिया लाठा बोकेर तैनाथ रहन्थे । पण्डित अर्थात् पुरेतहरू धार्मिक विधि वाचन गर्न खडा रहन्थे । चितामा आगो बल्न थालेपछि जीवित रहेकी महिला भाङको नशाबाट ब्यूँझिएर कराउन थाल्थिन । चिच्याउँदै सहयोगका लागि गुहार माग्थिन । तर नारीको त्यो चिच्याहट र आक्रोस अरु मानिसले नसुनून् भन्नाका खातिर बाजाहरू बजाइन्थे । दमाहा, शंख र घण्ट ठूलो आवाजका साथ बजाइन्थे । सतीको चित्कार सुने पाप (श्राप) लाग्नेछ भन्ने मान्यता थियो । मृत श्रीमानसंग बाँधेको डोरी जब आगोले डढाएर टुटाउँछ तब नारी आगोको ज्वालाको ताप खप्न नसकेर छट्पटाउँदै हाम्फाल्ने असफल प्रयास गर्दथे । तर वरिपरि बलिया लाठाहरू बोकेर तैनाथ रहेका मलामीहरू पण्डितको आदेशसँगै नारीलाई चिताबाट उठ्न नसक्नेगरी ती लाठाले जोडले प्रहार गर्थे । ती असहाय महिलामाथि अनेकन् अपशब्द बोल्दथे । आगोको ज्वाला र लाठाको प्रहारबाट थिल्थिलो बनेकी नारीलाई क्रमशः आगोले भष्म पार्दै जान्थ्यो । जीवित र निर्दोष नारीको शरीर सती प्रथाका नाममा क्षणभरमा खरानीमा परिणत हुन्थ्यो । कतिपय स्थानमा ठूला काठका मुढाहरूमा फलामको साङ्लोले महिलालाई बाँधेर चिता बनाएर आगोमा जलाइन्थ्यो । ती नारीले जतिसुकै प्रयास गरे तापनि त्यो फलामको साङ्लो चुँडाएर उम्कने सम्भावना हुँदैन थियो । एकभन्दा बढी श्रीमतीहरू हुने सबैलाई जिउँदै जलाइन्थ्यो । (स्रोत : विकिपिडिया)
यति सुन्दा अचम्मै लाग्यो होला है ? यति सम्म क्रुर कसरि हुनसक्थे भन्ने पनि लाग्ला । कतिपयलाई पत्याउनै गाह्रो हुन्छ । एकचोटी आफुलाई त्यो जमानाको मान्छेको रुपमा राखेर हेर्नुस त । त्यतिखेर त्यो ठिक लाग्न सक्छ । तर अहिले ति मानव दानव झैँ लाग्न सक्छन । माफ गर्नुहोला दानव जस्तो अप्रिय शब्द प्रयोग गरेकोमा । हो ठिक यसरि नै हामी पनि भविष्यमा हाम्रा केहि प्रथाले भविष्यका पिंढीहरुलाई दानव वा यस्तै यस्तै लाग्ने लगभग पक्का छ । अब बल्ल विवाह प्रथा वा कुप्रथा भन्नेमा बहस गरौँ ।
समाजले नै प्रथा बनाउँछ । कुप्रथामा परिणत गर्दै समाप्त पनि समाजले नै गर्छ । प्रथाको उत्पत्ति रातारात वा एकै दिनमा हुँदैन । सर्वप्रथम एकजना व्यक्तिको दिमागमा उक्त प्रथाले विचारको रुपमा जन्म पाउँछ । विचार अनुसार कार्य गर्छ । उक्त कार्यले आवश्यकता पुरा भएपछी पुनः प्रयास गर्छ । र पटक पटक अभ्यास गरेपछि बानी पर्छ । यो सफल अभ्यास अरु व्यक्तिले देखेपछि अपनाउँन शुरु गर्छन र समाजमा फैलिंदै जान्छ । त्यसरी यो जनरिती (Folkways) एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै प्रथा बन्छ । प्रथालाई व्यवस्थित गर्न ऐन कानूनको सहारा लिएको पनि देखिन्छ । यिनै प्रथा पछि गएर कुप्रथा हुँदै समाप्तिको गन्तव्य तय गर्छन । मानव अधिकार र समाजले यसको गति र दिशा निर्धारण गर्छ । जब सम्म त्यो रितिरिवाजले व्यक्ति वा समाजलाई असर गर्दैन तब सम्म प्रथा मानिन्छ । व्यक्ति र समाजलाई असर गर्ने बितिक्कै कुप्रथामा परिणत हुन थाल्छ । हाम्रा पुर्खाहरुले मान्दै आएका कतिपय प्रथाहरु अहिले कुप्रथा भईसकेका छन । अहिले हामीले मान्दै आएको प्रथा भोलि कुप्रथा हुन सक्नेछन । देउकी प्रथा, झारा प्रथा, बाँधा प्रथा, ढावा प्रथा, छाउपडी प्रथा, डंगुवा प्रथा, कमैया प्रथा, दास प्रथा, सती प्रथा, तिर्जा प्रथा, डोलाजी प्रथा, सैरली प्रथा, खुल्ला प्रथा आदी इत्यादि अहिले कुप्रथामा परिणत भई समाप्ति भईसकेका/भईरहेका छन । १९ औं शताब्दीमा समाजशास्त्रीहरु द्वारा गरिएको अध्ययन अनुसार पुरानो अवस्थामा विवाह भन्ने चलन नै थिएन । जुनसुकै स्त्री र पुरुष बीच शारीरिक सम्पर्क गर्ने स्वतन्त्रता थियो । प्लेटोको समय देखि नै विवाह प्रथाको अन्त्य र राज्य द्वारा बालबालिकाको पालनपोषणको कुरामा छलफलको शुरुवात भईसकेको मानिन्छ । पहिला स्त्रीहरुको सुखमय जिवनयापनको एउटा मात्रै साधन विवाह मानिन्थियो । अहिले औधोगिक क्रान्ति र शिक्षाले गर्दा स्त्रीहरु स्वावलम्बी बन्दै छन । सुखमय जिवनयापन गर्न विवाह प्रथालाई अंगाल्नै पर्छ भन्ने बाध्यता हटिसकेको देखिन्छ । सम्बन्ध विच्छेद, एकल जिवनको बढ्दो दरले विवाह प्रथाको कुप्रथा तर्फको यात्रा शुभारम्भ भईसकेको छ । मानव जिवन एकपटक मात्रै हो । एक जना संग मात्रै किन पूरा जिवन विताउने ? सम्बन्ध विच्छेद भएछि किन अर्को सङ विवाह नगर्ने ? जो लाई जो संग मन लाग्यो जिउन पाउनुपर्छ भन्ने मान्यताले पनि जरो गाड्दै छ । सामाजिक नियम भन्दा पनि व्यक्तिगत इच्छालाई प्राथमिकता दिनुपर्छ भन्ने मनोविज्ञान तयार हुँदैछ । विवाहलाई धार्मिक बन्धन भन्दा पनि कानूनी बन्धन र दुईजना बिचको निजी मामिलाको रुपमा लिईदै छ । तसर्थ विवाह प्रथाको अन्त्य वा स्वरूप परिवर्तन हुनसक्ने कुरा सजिलै अड्कलबाजी गर्न सकिन्छ ।
विशेष अनुरोध : उपरोक्त टिप्पणीलाई आधार मानि म प्रतिको धारणा बनाउने कुरा पूर्ण रुपमा निस्तेज गरिएको छ । विवाह प्रथा वा कुप्रथामा म मौन छु । धन्यवाद ।
[सामाजिक बिकास मन्त्रालय कैलालीमा कार्यरत जनस्वास्थ्य अधिकृत रमेश कुवँरको फेसबुक वालबाट ]
सतीप्रथा कहाँ र कहिले याे रूपमा थियाे? कुन प्रमाणका आधारमा भनिएकाे हाे? चन्द्रशम्शेरले हटाएकाे भनिएकाे सतीप्रथाकाे अनुसरण गरी ककसका पुर्खामा सती गएकाे इतिहास छ? जबर्जस्ती सती पठाउने कुरा न कुनै धर्मशास्त्रमा छ न कुनै समाजमा आम रूपमा चलेकाे थियाे। कसैले जबर्जस्ती सती पठाएकाे भए त्यसलाइ प्रथा भन्न मिल्दैन। हैन भने त हाम्रा समाजमा हत्या पनि भएका छन्, तिनलाइ पनि हत्याकाे प्रथा भन्न मिल्छ र? सतीप्रथा हिन्दुधर्ममा दाेष देखाउन चाहने पश्चिमा विधर्मीहरूकाे प्रचार मात्र हाे। यस लेखमा लेखिएजस्ताे सतीप्रथा कुनै समयमा पनि थिएन।
विवाहकाे परम्परा पहिला थिएन भन्नु पनि गलत कुरा हाे। पश्चिमा असभ्य समाजमा विवाहकाे परम्परा थिएन भन्दैमा सृष्टिकाे सुरुबाटै अत्यन्त व्यवस्थित र सुसंस्कृत समाज भएकाे प्राच्य परम्परामा विवाहकाे परम्परा पनि आदिकालदेखि नै थियाे।
विना प्रमाणका यस्ता भ्रमात्मक सामग्री प्रचार गर्नु उचित हाेइन।